काठमाडौं । सातै प्रदेशमा नयाँ सरकार गठन भएको छ । मंशिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि पहिला संघ र त्यसपछि प्रदेश सरकार गठनका लागि आह्वान भएको थियो ।
सातै वटा प्रदेशमा आज साँझसम्म नयाँ सरकार गठन भएको हो । केन्द्रमा भएको गठबन्धनकै आधारमा प्रदेशमा पनि सरकार बनेको हो । नेकपा एमालेले चार प्रदेशमा सरकारको नेतृत्व लिदा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टीले एउटा प्रदेशमा मुख्यमन्त्री पाएको छ । प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजावदी पार्टीका सरोज यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई आज बिहान उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थन रहेको छ । त्यस्तै बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जमरकट्टेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले माघ ३ गते विश्वासको मत लिने बताइएको छ ।
गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई सत्तागठबन्धन तथा स्वतन्त्र सांसद दिपक मनाङ्गेको समर्थन रह्ेको छ । उहाँले आउँदो शुक्रबार विश्वासकोम मत लिदै हुनुहुन्छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरि नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरिलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
गिरिले आजै ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुभएको थियो ।
उता, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।
यता, अन्तिम समयमा नागरिक उन्मुती पार्टीको समर्थन पाएपछि सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले एमाले संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।