काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ ।
प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उहाँले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भएको हो ।
नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भएपनि ओलीले आफूले ठिक गरें भनेर ओलीले अझै अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।
पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्रीलाई १५ बुँदे शर्तसहित विश्वासको मत दिएको बताउनुभयो ।
अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिवद्धता पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभयो । नेता नेपालले देशलाई विदेशीको क्रिडाभूमि बन्न नदिने काममा वर्तमान सरकार सचेत रहनुपर्ने बताउनुभयो ।