Aafno Khabar

काठमाडौंमा नागरिकता बनाउन एक घण्टा मात्रै

  • आफ्नो खबर
  • January 5, 2023 प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । आजदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कार्यालयका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र उनीहरुले सेवा पाउनेछन् ।

नागरिकता बनाउन कागजात पुगेको छ भने एक घन्टाभित्रमा तयार हुने बताइएको छ । संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक परिचयपत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसका लागि एक घन्टा समय तोकिएको कार्यालयले जनाएको छ ।

राहदानी छपाइ भएर आइसकेपछि लिन १५ मिनेट लाग्नेछ । मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र सकिनेछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि आज जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर सेवा प्रवाह अवस्थाको निरीक्षण गर्नुभएको थियो ।