काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको आरोप लगाएको छ ।
सत्ताबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रतिवद्धताबाट पछि हटेपछि गठबन्धन भत्किएको आरोप लगाउनुभएको हो ।
प्रवक्ता महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले प्रयास गरेपनि सफल नभएको जिकिर गर्दै नेकपा माओवादी केन्द्रले गठबन्धन छाड्नुमा कांग्रेस दोषी नभएको दावी गर्नुभयो ।
नेपाली कांग्रेसले अहिले बनेको सत्तागठबन्धन अवसरवादीहरुको भएको आरोप पनि लगाएको छ । महतले वर्तमान सत्तागठबन्धन अवसरवादी र पदिय चाहानबाट उन्मुख भएको आरोप लगाउनुभएको हो ।
सत्तागठबन्धनका दलहरुमा विचार र दृष्टिकोणमा कुनै एकता नभएको जिकिर गर्दै प्रवक्ता महतले पदकै कारणले सत्ता गठबन्धनको आयु छोटिन सक्ने आंकलन गर्नुभयो ।
प्रवक्ता महतले निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परीणाम ल्याउन नसके पनि सन्तोषजनक रहेको तर सबैभन्दा ठूलो पार्टी भएपनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको बताउनुभयो । आगामी निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने प्रवक्ता महतको दावी छ ।