काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्टस सिटी बनाउन योजनावद्ध रुपमा काम हुने भएको छ ।
नगरपालिकाले खेलकुद नगरी बनाउनका लागि संभाब्यता अध्ययन तथा समन्वयका लागि समिति गठन गरेको छ ।
खेलकुद नगरी संभाब्यता अध्ययन तथा समन्वय समितिको पहिलो बैठकले नगरपालिकालाई खेलकुदको हब बनाउनका लागि प्रचुर संभावना भएकाले विशिष्ट योजना र तयारीका साथ अगाडी बढ्ने निर्णय गरेको हो ।
नगर प्रमुख उपेन्द्र कार्कीको संयोजकत्वमा गठिन समितिले विस्तृत योजना सहितको राष्ट्रब्यापी खेलकुद सम्मेलन गर्ने निर्णय गरेको समिति सदस्य राधेश्याम दाहालले जानकारी दिनुभयो ।
स्पोर्टस सिटीका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जमिनको पहिचान गर्ने काम समेत शुरु गरिसकेको उहाँले जानकारी दिनुभयो ।
यसले नगरपालिकालाई आर्थिक रुपमा समेत बलियो बनाउन मद्दत पुग्ने बताइएको छ । नगरपालिकाले खेलकुदका पूर्वाधार निर्माणका लागि निजि क्षेत्रलाई आकर्षित गर्न विशेष कार्यक्रम ल्याउने जनाएको छ ।