काठमाडौं । नेपाल अयल निगमले भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट प्राप्त भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा लिटरमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रति लिटर बढेर आएको निगमले जनाएको हो । एलपी ग्याँसको मूल्य भने केही घटेर आएको छ ।
निगमलाई हाल डिजेलमा प्रतिलिटर १२ रुपैयाँ बढी र एलपी ग्याँसमा सिलिन्डरमा २ सय २८ रुपैयाँ बराबर घाटा भइरहेको निगमले जनाएको छ । तर पनि पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा हुने नाफाका कारण समग्रमा निगमलाई आगामी १५ दिनमा करिब १८ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ ।
निगमले बिक्री मूल्य भने हाललाई यथावत राखेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रममा रहेको, बक्यौता र ऋण व्यवस्थापन अझै चुनौतीपूर्ण रहेकाले हाललाई बिक्री मूल्य यथावत राखिएको निगमको तर्क छ ।