Aafno Khabar

राप्तीमा भुमिहिनलाई जग्गा वितरणको प्रकृया सुरु

  • आफ्नो खबर
  • २०७९ साउन १७ गते १३:१८ प्रकाशित

चितवन । राप्ती नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा वितरणका लागि जग्गा नाप नक्सांकन सुरु गरेको छ । नगरको वडा नम्वर ११ डुम्रेखाँडीबाट नक्सांकन सुरु भएको हो । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालको उपस्थितिमा नाप नक्सांकन कार्य सुरुवात गरिएको थियो ।

नगरपालिकाले अहिले सम्म वडा नम्वर १०,११ र १२ मा जग्गाको निस्सा वितरण गरेको छ । ती सवै वडामा साउन मसान्तभित्र निस्सा वितरण गरेर नाप नक्सांकन सुरु गरिने नगर प्रमुख शमशेर लामाले जानकारी दिए ।

राप्ती नगर भित्र भुमिहिन सुकुम्वासी,भुमिहिन दलित र अव्यवस्थित वसोवासी गरि कुल ८ हजार ९८६ परिवारले लालपुर्जाका लागि फाराम भरेका छन् । जसमध्ये अव्यवस्थित वसोवासीको संख्या आधा भन्दा धेरै छ ।

नगरपालिकाका अनुसार अव्यवस्थित बसोवासी परिवार संंख्या ६ हजार १८४, भुमिहिन सुकुम्वासीको घरधुरी संख्या २ हजार ४२९ र भुमिहिन दलितको घरधुरी संख्या ३ सय ७३ रहेको छ । वडाका विभिन्न स्थानमा राखिएको पोईन्टबाट जिपिएस मार्फत जग्गाको नाप हुनेछ ।

राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष वद्री तिमल्सीनाले वडा र नगरपालिकाले जति छिटो काम सम्पन्न गर्दा आयोगले सोही अनुसार लालपुर्जा वितरण गर्ने बताए ।

जग्गा नापजाँच गर्दा स्थानीयले पनि सहयोग गर्नुपर्छ,वडा र नगरले जतिछिटो काम गर्छ,सोही अनुसार आयोगले थप प्रक्रिया अघि वढाउँछ जिल्ला आयोग अध्यक्ष तिमल्सीनाले भने – नयाँ आयोग वनेको छोटो समयमै कतिपय ठाउँमा लालपुर्जा वाडिसकियो,राप्तीमा पनि यही आयोगले वितरण गर्नेछ । तिमल्सीनाले नगरपालिकाले शहरी क्षेत्र,शहर उन्मुख क्षेत्र,ग्रामिण क्षेत्र र कृषि क्षेत्र वर्गिकरण गरेर काम गर्नु पर्ने बताए ।