काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले आउँदो मंशिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ ।
आज हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय ब्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागि परेको बताउनुभयो ।
देशमा संघीय ब्यवस्था स्थायित्व हुने देखेपछि शासन ब्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्व निर्वाचन समयमा हन नदिन लागि परेको बताउनुभयो ।
शासन ब्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उहाँको भनाई छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंशिर पहिलो साता हुनुपर्ने भन्दै उहाँले सरकारले यस बारेमा छिट्टै निर्णय गर्नुपर्ने बताउनुभयो ।
विभिन्न आशंकाबीच स्थानीय तह निर्वाचन समयमा नै सम्पन्न भएको भन्दै उहाँले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि समयमा नै गर्नुपर्ने उहाँको माग छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गर्नुभयो ।