Aafno Khabar
add khanepani

साफ यू–२० मा नेपालको दोस्रो जित, श्रीलंकाको पोष्टमा ३ गोल

  • आफ्नो खबर
  • July 27, 2022 प्रकाशित

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।

अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।

खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाए ।

जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो ।