काठमाडौं । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हो । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।
यसअघि, प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पोखरेल सर्वोच्च अदालत गएका थिए। उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका थिए।
सरकारले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई बढुवा गरेपछि वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । पोखरलविरुद्धको मुद्धा पटक–पटक स्थगित हुँदै आएको थियो ।