काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तीन दिन भइसक्दा पनि पार्टीको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी को हुन् भन्ने देखाउन सकेको छैन।
एमालेको विभागमा रहेका ती व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् भनेर व्यापक चर्चा भइरहेको छ। सत्तारूढ दल नेकपा ९माओवादी केन्द्र०का सांसदहरूले संसदमा उनको राजीनामा मागेका छन्।
सामाजिक सञ्जालमा मानिसहरूले नक्कली खाता खोलेर एम अधिकारी यिनै हुन् भनेर खिल्ली उडाइरहेका छन्। कतिले एमालेको आलोचना पनि गरेका छन्। सत्तारूढ गठबन्धनको शुक्रबारको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले यो विषय पनि उठाएका छन्।
सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिमा चर्चा भइरहेका एम अधिकारी को हुन् त भन्नेबारे एमालेले अहिलेसम्म ठोस जवाफ दिन सकेको छैन् ।
एमालेको अर्थ तथा योजना विभागमा रहेको एम अधिकारी को हो भनेर गभर्नर अधिकारीले एमाले पार्टी कार्यालयलाई सोधेका थिए। त्यसको जवाफ दिँदै एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले ‘एम अधिकारी, खोटाङ भन्ने व्यक्ति तपाईं होइन’ भन्दै अधिकारीलाई जवाफ फर्काएका छन्।
उक्त जवाफमा सचिव अधिकारीले एम अधिकारी भन्ने व्यक्ति को हो भन्ने खुलाएका छैनन्। कार्यालय सचिव अधिकारी विभागलाई देखाएर पन्छिए पनि विभागका पदाधिकारी पनि एम अधिकारीबारे भन्न सक्ने अवस्थामा छैनन्।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ? भन्नु भएको छ ।’