Aafno Khabar
add khanepani

प्रदेशको वेथिती : १ लाखको राहत बाड्न २८ लाख खर्च

  • आफ्नो खबर
  • July 14, 2022 प्रकाशित

फाइल तस्विर

काठमाडौं । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।

सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए ।

महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको थियो । यसको भाडा २५ लाख ६८ हजार रुपैयाँ उठेको छ ।

सोही दिन एक निजी कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरिएको थियो । यसको भाडावापत ३ लाख भुक्तानी दिइएको थियो । यसरी १ लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

बागमती प्रदेश सरकारको बेरुजु रकम पनि अर्ब माथि नाघेको छ । यता, कर्णाली प्रदेशको बेरुजु रकम २ अर्ब ७९ करोड माथि पुगेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी निकाय र अन्य संस्था तथा समितितर्फ गत आर्थिक वर्षको १ अर्ब १९ करोड र चालु आर्थिक वर्षको १ अर्ब ६० करोड गरी २ अर्ब ७९ करोड बेरुजु पुगेको हो ।

प्रदेश सरकार र प्रदेशका स्थानीय तहले नियम विपरीत बजेट खर्च गर्ने र समयमै पेस्की फर्छ्यौट नगर्दा बेरुजु बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयसहितका सरकारी कार्यालयतर्फ १ अर्ब ५३ करोड ८८ लाख र अन्य समिति तथा संस्थातर्फ ६ करोड २९ लाख ४५ हजार बेरुजु देखिएको छ ।

७ वटा मन्त्रालय रहेको कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु छ । त्यस्तै, प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷०७८ मा ५४ करोड ५९ लाख रकम नियमविपरीत खर्च गरेको छ ।