Aafno Khabar

छिट्टै महामारीको रुप लिने हैजा कस्ता मानिसलाई लाग्छ ? लागेको कसरी थाहा पाउने ?

  • आफ्नो खबर
  • June 27, 2022 प्रकाशित

काठमाडौं । विश्वमा ७ पटक सम्म महामारीको रुपमा फैलिएको हैजाका बिरामी नेपालमा देखिएका छन् । सुरुमा काठमाडौंका दुई जनामा देखिएको हैजा असार १२ गतेसम्म आउँदा एघार जनामा पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।

यो सङ्ख्या धेरै हुन सक्ने र यसले उपत्यकामा महामारीको रुप समेत लिन सक्ने भन्दै चिकित्सकले सर्तक रहन आम नागरिकलाई आग्रह गरेको छ ।

भिब्रियो कलेरा नामक ब्याक्टेरियाका कारण लाग्ने हैजाले आन्द्राको सन्क्रमण गराई छिट्टै नै जलबिनियोजन गराउने गर्दछ ।

संसार भरीमा १ दशमलव ३ अर्ब मानिसहरु हैजाको जोखिममा छन् भने वर्षेनी १० देखि ४० लाख केस र ९५००० जना व्यक्तिको मृत्यु हुने तथ्यांक छ। हैजा संक्रमित हरेक १० जनामा १ जनालाई गम्भिर किसिमको असर देखिने गरेको विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ।

हैजाको जोखिम कहाँ हुन्छ ?

हामीले पिउने पानी तथा खानामा हैजा गराउने किटाणु सन्क्रमित भई दूषित भएमा र व्यक्तिगत सरसफाइमा कमी भएमा, हैजा सन्क्रमित बिरामीको हेरचाह गर्ने आफन्त र स्वास्थ्यकर्मीहरु, कुपोषित बच्चाहरु, २ वर्ष मुनीका बालबालिकाहरु, रोग प्रतिरोधात्मक शक्ति कम भएका, ब्लड ग्रुप ओ भएका व्यक्तिहरुमा हैजाको जोखिम हुन्छ।

हैजाका लक्षणहरु

दुषित खाना वा पानीको प्रयोग गरेपश्चात १२ घन्टा देखी ५ दिन भित्रै लक्षण देखा पर्दछ। प्रायमा अचानक पानी जस्तो तारन्तार दिसा हुन्छ भने केहीमा सुरुवाती अवस्थामा पेटमा असजिलो हुने र खान मन नलाग्ने हुन सक्छ। पछि गएर पिडारहित चौलानी पानी जस्तो पातलो दिसा भइरहन्छ जुन माछा जस्तो गन्ध पनि आउन सक्छ।

बान्ता पनि पानी जस्तो तारन्तार हुने गर्दछ। खुट्टाका मासुहरु बाउडिने, असाध्यै तिर्खा लाग्ने, झिझिने तथा छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चाहरुमा तालुमा खाल्टो पर्ने, आँखाहरु भित्र गाडीने, आँसु नआउने, ओठमुख सुख्खा हुने, छालाको चमक हराउने, सुरुमा एकदम तिर्खाएको जस्तो देखिए पनि पानी पिउन पनि नसक्ने भई बेहोस् र अचेत हुन थाल्ने गर्दछन।

समस्या के हुन्छ ?

समयमै उपचार नपाएमा शरीरमा पानीको मात्रा कमी भई प्रेसर कम हुने, मिर्गौला फेल हुने, मुटुमा असर गर्ने, ग्लुकोज कम हुने तथा कुनैमा छारेरोग जस्तो शरीर काम्ने पनि हुन्छ। समयमा उपचार हुन नपाएमा केही घण्टामै मृत्यु समेत हुन सक्छ।

उपचार कसरी गर्ने

झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा १ पुरिया जीवनजल प्रयोग गरी राम्ररी घोल्ने र पटकपटक गरी खुवाउने, प्रशस्तै मात्रामा झोलिलो पदार्थ खाने, स्वास्थ्यकर्मीले दिएको सल्लाह बमोजिम आवश्यकता अनुसार एन्टिबायोटिक तथा जिन्कको प्रयोग गर्ने ।

रोकथामका उपायहरु

चर्पीमा मात्रै दिसा पिसाब गर्ने, दिसा पिशाब गरेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु, खुवाउनु, खानुअघि र खाइसकेपछी साबुनपानीले मिचिमिची हात धुने,पानी उमालेर, फिल्टर गरेर वा १ लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने, बासी, सडेगलेको, झिङ्गा भन्केको खानेकुरा नखाने।