काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले भाँडभैलो भइरहँदा फेरि अर्को ट्वीस्ट आएको छ ।हस्ताक्षर फिर्ता नलिएका तीन मन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। आफूलाई मन्त्रीबाट नहटाउन दबाब दिन उनीहरु प्रधानमन्त्री निवास पुगेका हुन्।
स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्याउन बालुवाटार पुगेको स्रोतले जनाएको छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि छन्।
मन्त्रिमण्डल हेरफेरको विषयमा नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दिएको पत्रमा हस्ताक्षर फिर्ता नलिएका मन्त्री तथा सांसदहरु प्रधानमन्त्रीलाई माग र अडान दोहोर्याउन भेट्न पुगेका हुन्।
राष्ट्रिय सभाबाट बजेट पारित भएपछि शर्शत मन्त्री पद छोड्ने भएकाले तत्काल आफूहरुलाई नहटाउन उनीहरुले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। उनीहरुले आज पनि सोहि आग्रह दोहोर्याउन खोजेका हुन्। गैरसांसदलाई मन्त्री बनाउन नहुने, एउटै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नहुने तथा नयाँ बन्ने मन्त्रीमा महिलालाई पनि सहभागी गराउनुपर्ने उनीहरुको सर्त छ।
अध्यक्ष नेपाललाई लेखेको मागसहितको पत्रमा १० जनाले हस्ताक्षर गरेकोमा पर्यटनमन्त्री प्रेम आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् भने तीन मन्त्री र एक सांसदले फिर्ता नलिइ पुरानै अडान र माग दोहोर्याउन प्रधानमन्त्री निवास पुगेका छन्। यसअघि पनि उनीहरु दिनभर विभिन्न भेटघाट र दौडधुपमा व्यस्त थिए।
शनिबार दिउँसो केन्द्रीय कमिटी बैठकस्थलमा उपस्थित नेताहरु पनि आफ्नै नेताको विचलनलाई केन्द्रमा राख्दै चिन्ता जनाइरहेका थिए। बैठकमै मन्त्री छाड्न नसकेर खुमलटारदेखि बालुवाटारसम्म नेताहरु धाउन थालेका टिप्पणी सुनिए।
यो टिप्पणी चलिरहँदा तीनजना मन्त्रीहरु आफूहरुलाई क्याबिनेबाट बिदा नगर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। माधव नेपालको निर्णयविरुद्ध उभिएका उनीहरुले समानान्तर गतिविधि गरिरहेका छन्।
समाजवादीमा स्थानीय निर्वाचन नतिजादेखि पाँच दलीय गठबन्धनप्रति असन्तुष्टिका स्वर शीर्ष नेताबाटै आउन थालेका थिए। यस्तोमा ४ मन्त्रीसहित १० जना सांसदले शुक्रबार अध्यक्ष माधव नेपाललाई लिखित असन्तुष्टि दिएका थिए। असन्तुष्टमध्ये ४ जना मन्त्री शनिबारको केन्द्रीय कमिटी बैठकमै पुगेनन्।