Aafno Khabar

आधाभन्दा धेरै महिलाको भावना विपरित किन उल्टियो अमेरिकामा गर्भपतन कानुन ?

  • आफ्नो खबर
  • June 25, 2022 प्रकाशित

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला उल्ट्याएको छ ।

योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन् ।
अदालतको यो आदेशले अब अमेरिकाका राज्यहरुलाई गर्भपतनलाई गैरकानुनी मान्ने वा त्यसलाई मान्यता दिने विकल्प दिएको छ ।

तर, गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले भने अदालतको फैसलामा असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् । अमेरिकामा महिला अधिकारवादीहरुले अदालतको फैसलाप्रति चर्को विरोध जनाएका छन्।

रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ ।

अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकार स्पष्ट उल्लेख गरेको छैन । अघिल्ला राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका मनोनयनपश्चात् अहिले अमेरिकाको सर्वोच्च अदालतमा परम्परावादी न्यायाधीशहरूको बहुमत छ ।

तर अमेरिकामा मत सर्वेक्षणहरूले अधिकांश अमेरिकी महिलाहरू गर्भपतनको अधिकारको पक्षमा रहेको देखाएका छन् । यस आदेशले अमेरिकामा गर्भपतन अधिकारलाई परिवर्तन गर्नेछ जहाँ हरेक राज्यले त्यसलाई प्रतिबन्ध लगाउन सक्नेछन् ।

आधाजसो अमेरिकी राज्यहरूले नयाँ अवरोध वा प्रतिबन्धहरू लगाउन सक्ने अपेक्षा गरिएको छ ।
१३ राज्यले ‘ट्रिगर ल’ भनिने केही कानुनी व्यवस्था तयार गरेर पारित गरिसकेका छन् जसले सर्वोच्चको यस आदेशसँगै अब स्वतः गर्भपतनलाई गैरकानुनी ठह¥याउनेछन् ।

यस्तो आदेश, अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको एउटा मस्यौदा दस्ताबेज चुहिएको केही सातापछि आएको हो।