Aafno Khabar

अर्थमन्त्रीको राजीनामा प्रधानमन्त्रीले रोके, व्यापारिक घरानासँग साँठगाठको शंका

  • आफ्नो खबर
  • June 15, 2022 प्रकाशित

काठमाडौं । बजेट निर्माणको विषयलाई लिएर बिवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउबाले रोकेका छन् । अर्थमन्त्री शर्मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएपछि विवादमा तानिएका थिए।

जेठ १४ गते राति बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनाधिकृत रूपमा पूर्वनासु रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई जिम्मेवारी दिएको तथ्य सार्वजनिक भएपछि शर्माले पद छाड्नुपर्ने आवाज संसददेखि दलहरूभित्र समेत उठिरहेको छ। नेकपा माओवादी केन्द्रभित्रै पनि शर्मालाई पदबाट हटाउनुपर्ने दबाब परिरहेका बेला प्रधानमन्त्री देउवाले भने उनलाई पदमा यथावत काम गर्न मन्त्रिपरिषद बैठकमै निर्देशन दिएका हुन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा बजेट निर्माणमा शर्माले गरेको खेलाचीको विषयमा अरू मन्त्रीहरूले समेत खुलेर चर्को आलोचना गरेका थिए । बैठकमा नै आफ्नो आलोचना भएपनि अर्थमन्त्री शर्माले यदि प्रधानमन्त्री भन्नुहुन्छ भने आफू राजीनामा दिन तयार रहेको बताएका थिए ।

तर प्रधानमन्त्री देउवाले तत्काल निर्णय नगर्न भन्दै शर्माको राजीनामा रोकेको स्रोतले बतायो। प्रधानमन्त्री देउवाले शर्मालाई तपाईं काम गर्नुहोस्, राजीनामाको पछि नलाग्नुस् भन्ने निर्देशन दिनुभएको स्रोतको भनाई छ ।

शर्माले आफ्नो तर्फबाट आगामी आर्थिक वर्षका लागि करका दर हेरफेरका गर्न बजेट निर्माणमा संलग्न अर्थसचिवहरू मधु मरासिनी र कृष्णहरि पुस्करको टोलीलाई पूर्वनासु घिमिरेले जे भन्छन् त्यही मान्न निर्देशन दिएका थिए। घिमिरेले भनेझैँ करका दरहरू हेरफेर गरिएको छ। अर्थमन्त्रीको स्वीकृतिमा घिमिरेले छानीछानी व्यापारिक घरानाहरूलाई फाइदा हुनेगरी करका दर हेरफेर गरेका छन्। केही सामानको कर निर्धारण गर्न छुटेको छ।

शर्माको राजीनामा प्रधानमन्त्री देउवाले रोक्नुले व्यापारिक घरानाको फाइदाका लागि गरिएको करका दर हेरफेरमा उनको समेत समर्थन रहेको आशंका जन्मिएको छ। प्रधानमन्त्रीले राजीनामा रोके पनि संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले भने अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने माग राखेर सदन अवरुद्ध पारेको छ। सोमबार आफ्नै स्थगन प्रस्तावमाथि कार्यसूचीमा भएकाले सामान्य विरोध जनाएर सदन चलाउन तयार देखिएको विपक्षी एमाले मंगलबारदेखि भने कडा रुपमा प्रस्तुत भएको छ।

एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग अघि सारेको छ।

मंगलबार शर्माले संसदमा घटना तथ्यहिन रहेको जवाफ दिए पनि एमालेले त्यसप्रति असहमति जनाउँदै संसद अवरुद्ध पारेको थियो। एमालेले घटनाका छानबिन गर्दै बुधबार पनि संसद अवरोध जारी राख्ने तयारी गरेको छ।