Aafno Khabar

नेपाल र अमेरिकाबीचको खेल बराबर

  • आफ्नो खबर
  • June 12, 2022 प्रकाशित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ । अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमान्चक खेल बराबरी भएको हो ।

मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल बराबरी भएको हो ।अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले ।

यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए । नेपालका आदील आलमले २ विकेट लिए । जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे ।

अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल टाइ गराए । रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल टाइ भयो ।

आदील प्लेयर अफ द म्याच चुनिए । यस्तै कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रन आउट भए । कप्तान सन्दीपले १० रन बनाए ।

आरिफ शेख ८, दिपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ रनमा आउट हुँदा करण केसी सुन्य रनमा आउट भए । सुशन भारी १ रनमा अविजित रहे । अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए । अलि खान र सौरभ नेत्रभाल्करले २र२ विकेट लिए ।

खेल टाइ भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् ।लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो।

अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।