Aafno Khabar

भरतपुर महानगरको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहाल को हुन ?

  • आफ्नो खबर
  • May 24, 2022 प्रकाशित

फाइल

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे। यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत ल्याए ।

दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन्। विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मिएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन ।

दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य समेत थिइन्। उनी हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसकेकी छन् ।

यस्तै विसं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौँ सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा सङ्गठनात्मक काममा सक्रिय रहेकी थिइन्।

भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन।

अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन् । विसं २०२४ मा जन्मनुभएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो ।

विसं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उहाँको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित भएका छन । अधिकारी विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

भरतपुर महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी) ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ । वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।