चितवन । भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २४ हजार मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ४३ हजार ६०६ मत प्राप्त गरेकी छन् ।
दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३३ हजार ७०३ मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म १ लाख ३ हजार बढी मतगणना गरिएको छ ।
वडा नम्बर ४ को मतगणना देखि नै लगातार अग्रता लिँदै आएकी दाहाल सुवेदीभन्दा १० हजार मतले अगाडि छन् । अहिले भरतपुर–२४ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् । सा
कुनै चमत्कार भएको अवस्थामा बाहेक सुवेदीले जित्ने सम्भावना देखिँदैन । एमालेका वडा अध्यक्षका उम्मेदवारले पाएको भोट एमालेकै मेयरका उम्मेदवार सुवेदीले पाएका छैनन् । एमालेको गढ मानिएको वडामा नै मेयरमा दाहाललाई दिएर बाँकी पदमा एमालेका उम्मेदवारलाई मत दिएको पाइएको छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण पनि रेणु दाहाललाई जित्न सहज भएको छ । पौडेलले अहिलेसम्म १३ हजार ३५० मत ल्याएका छन् । असन्तुष्ट कांग्रेसीबाट सुवेदीलाई जान सक्ने मत पौडेलले रोकेका छन् ।
मेयरमा सुवेदीलाई दाहालले धेरै मतान्तरले पछाडि पारे पनि माओवादी केन्द्रले पाएको वडा अध्यक्ष पद जित्न सकेको छैन । माओवादीले हालसम्म एउटा मात्रै वडा जितेको छ ।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार ९८२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २६ हजार ६८६ मत ल्याएकी छन् ।