Aafno Khabar

काठमाडौंमा बालेनले जित्ने पक्का, दोस्रोका लागि कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा

  • आफ्नो खबर
  • May 23, 2022 प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्।

सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४३ हजार ७ सय ५७ मतसहित अग्रता फराकिलो पारेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २५ हजार ६ सय ८० मत पाएकी छन्। बालेनले सिर्जनाको भन्दा १८ हजार ७७ मत धेरै पाएका छन् ।

तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २४ हजार ५८८ मत पाएका छन् । सिर्जना र स्थापितको मतान्तर १ हजार ९२ छ। काठमाडौंमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। यहाँ १ लाख ९० हजार ९८४ मत खसेको थियो ।

यता, भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २८ हजार १९५ मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् ।

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९९ हजार ६४४ मतगणना गरिएको छ ।

वडा नम्बर ४ को मतगणना देखि नै लगातार अग्रता लिँदै आएकी दाहाल सुवेदीभन्दा आठ हजार ७५६ मतले अगाडि छन् । अहिले भरतपुर–२१ र २२ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् । सात वटा वडाको पुरै मत गन्न बाँकी छ ।

कुनै चमत्कार भएको अवस्थामा बाहेक सुवेदीले जित्ने सम्भावना देखिँदैन । एमालेका वडा अध्यक्षका उम्मेदवारले पाएको भोट एमालेकै मेयरका उम्मेदवार सुवेदीले पाएका छैनन् । एमालेको गढ मानिएको वडामा नै मेयरमा दाहाललाई दिएर बाँकी पदमा एमालेका उम्मेदवारलाई मत दिएको पाइएको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण पनि रेणु दाहाललाई जित्न सहज भएको छ । पौडेलले अहिलेसम्म १२ हजार ८१० मत ल्याएका छन् । असन्तुष्ट कांग्रेसीबाट सुवेदीलाई जान सक्ने मत पौडेलले रोकेका छन् ।

मेयरमा सुवेदीलाई दाहालले धेरै मतान्तरले पछाडि पारे पनि माओवादी केन्द्रले पाएको वडा अध्यक्ष पद जित्न सकेको छैन । २२ नम्बर वडाको मत गणना भइरहँदा माओवादीले एउटा मात्रै वडा जितेको छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१ हजार ६६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २४ हजार २६७ मत ल्याएकी छन् ।