चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई निकै फराकिलो पार्दै लगेकी छन् । यो समाचार तयार पार्दासम्म रेनुले ६ हजार ९३९ मतको अग्रता लिएकी छन् ।
८१ हजार १०९ मत गणना हुँदा रेनुले ३२ हजार ५१९ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५८० मतका साथ पछ्याइरहेका छन् ।
भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार २९६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।
उनालई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मतका साथ पछ्याइरहेका छन् । अहिले वडा नम्बर १७ र १८ को मतगणना भइरहेको छ ।
काठमाडौंमा भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएकी छन् ।
राष्ट्रियसभा जारी मतगणना १९ हजार ९१० भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार ८ सय ५० मतमा सीमित हुन पुगेका छन् ।
पहिलो स्थानमा रहेका बालेन शाह उनीहरूभन्दा धेरै अगाडि छन्, लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३६ हजार २ सय २६ मतसहित अग्रस्थानमा छन् ।