काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहेका ६ वटा उपमहानगरपालिका मध्ये २ उपमहानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । तीन वटामा स्वतन्त्र उम्मेदवार अगाडि रहँदा १ उपमहानगरमा एमालेको अग्रता छ ।
सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले २६ हजार ६५२ मत ल्याउँदा एमालेका यामकुमार सुब्बाले २२ हजार ५८० मत पाउनुभएको छ । उपमेयरमा एमालेकी संगीता चौधरीको २५ हजार ९५१ मत हुादा नेकपा एसका केशवकुमार विष्टको १४ हजार ९५६ मत छ ।
सुनसरीकै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले १२ हजार ८०५ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ११ हजार २४५ मत प्राप्त गर्नुभएको छ । उपमेयरका माओवादीका अइन्द्रविक्रम बेघाले १३ हजार ३२ मत ल्याउँदा एमालेका पदमप्रसाद लिम्बुले १२ हजार ३१६ मत ल्याउनुभएको छ ।
कैलालीको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २२ हजार ५४१ मतका साथ शीर्ष स्थानमा रहँदा कांग्रेसका नृपबहादुर वड ११ हजार ५४४ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । उमपेयरमा एमालेकी कन्दकलाकुमारी रानाको १० हजार ८८० मत ल्याउँदा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारीले १० हजार ७०२ मत छ ।
रुपन्देहीको बुटवलमा कांग्रेसका खेलराज पाण्डेले २५ हजार ६१२ मत ल्याउँदा एमालेका बाबुराम भट्टराई १८ हजार ६५९ मतसहित दोस्रोमा हुनुहुन्छ । उपमेयरमा एमालेकी सावित्रादेवी अर्यालको २० हजार ६०४ मत हुँदा नेकपा एसका चीनबहादुर गुरुङको १४ हजार ७७५ मत छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेका टिकाराम खड्काको १० हजार ६०५ मत हुँदा कांग्रेसका गहेन्द्र गिरीको १० हजार ५३४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
उपमेयरमा एमालेकी स्यानी चौधरीले ९ हजार ९१७ मत ल्याउँदा नेकपा एसका जोगबहादुर रानाको ८ हजार ९९ मत छ ।
यसैगरि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ७ हजार ७०८ मतसहित पहिलो स्थानमा रहँदा एमालेका शिवशंकर साह ५ हजार २८० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । उपमेयरमा कांग्रेसका किशोरी साहको ८ हजार ९४३ मत हुँदा एमालेकी रुणादेवी झाको ६ हजार १० मत छ ।
यसअघि पाँच उपमहानगरको मतगणना सकिदा तीन उपमहानगरमा गठबन्धन र दुईमा एमालेका उम्मेदवार विजयी भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीकी मिनाकुमारी लामा निर्वाचित हुनुभएको छ । उहाँले एमालेका अनन्तप्रसाद पौडेललाई पराजित गर्नुभयो । लामाको २३ हजार ७५ मत आउँदा पौडेलले २० हजार ९०८ मत ल्याउनुभयो ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश वानीया विजयी हुनुभयो । उहाँले एमाले उम्मेदवार सुमित्रा काफ्लेलाई पराजित गर्नुभयो ।
बानीयाको ३२ हजार ५९३ मत आउँदा काफ्लेको २३ हजार ९०९ मत आयो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका प्रशान्त विष्ट निर्वाचत हुनुभएको छ । बाराको जितपुर सिमरामा माओवादीका राजन पौडेल विजयी हुनुभएको छ ।
बाराको कलैया उपमहानगरको प्रमुखमा एमालेका विनोदप्रसाद साह निर्वाचित हुनुभयो । यसअघि दाङको घोराही उपमहानगरमा नेकपा एमालेका नरुलाल चौधरी निर्वाचित हुनुभएको थियो ।