Aafno Khabar

भरतपुरको ५५ हजार बढी मतगणना हुँदा कसको मत कति ?

  • आफ्नो खबर
  • May 20, 2022 प्रकाशित

चितवन । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ ।

महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ ।

प्रमुखमा गठबन्धनबाट उम्मेदवार रहनुभएकी माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार २६७ मतले अग्रता लिएकी छन भने उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३४३ मतका साथ अग्रता लिएका छन् ।

प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गर्नुभएको छ ।

गणना भइरहेका वडामा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । यसअघि गणना भएका १० वडामध्ये सातमा कांग्रेस, दुईमा नेकपा (एकीकृत समाजवादी) र एउटामा एमाले विजयी भएका छन् ।

स्थानीय तहमा कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित 

निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ ।

पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् ।

आयोगले वैशाख ३० गते सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन भएकामध्ये ६३८ पालिकाको मतगणना सम्पन्न भइसकेको आयोगले जनाएको छ । ती पालिकामा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवार विजयी बनेका छन् ।

आयोगका अनुसार प्रमुखमा १०२, अध्यक्षमा १८०, उपप्रमुखमा ७७, उपाध्यक्षमा १८०, वडा अध्यक्षमा २ हजार ३९३, महिला सदस्यमा २ हजार ३५४, दलित महिला सदस्यमा २ हजार २९५ र सदस्यमा ४ हजार ७६४ जना कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु