बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।
नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार विष्ट २३ हजार ४६० मतसहित नगरप्रमुख चुनिंदा नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो ।
नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १० हजार १३५ मत पाएकी छन् ।
यता, विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार कोइरालाले २४५६३ मतसहित अग्रता कायम गरेका हुन्। ६१४८ मतान्तरले उनी अघि छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले १८४१५ मत ल्याएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ७४९७ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमालेकी शिल्पा कार्कीको अग्रता रहेको छ। उनले जनता समाजवादीका अमरेन्द्र यादवलाई झन्डै ९ हजार मतले पछाडि पारेकी छन्।
कार्कीले २१३८३ मत पाउँदा यादवले जम्मा १२१०४ मत ल्याएका छन्। यस्तै, राप्रपाकी विन्दाकुमारी लुइँटेलले ५५८६ मत ल्याएकी छन्। अर्का स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पनि ४४५८ मत प्राप्त गरेकी छन्।