Aafno Khabar

हावाहुरीका कारण चितवनमा ३ जनाको ज्यान गयो, गुडिरहेको ट्रक नै पल्टियो

  • आफ्नो खबर
  • May 20, 2022 प्रकाशित

चितवन । चितवनमा हावाहुरीका कारण पल्टिएका रुखले च्यापेर तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ज्यान जानेको सताखत हुन बाँकी छ ।

प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । यसैगरी भरतपुर–१ बसेनीमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको ज्यान गएको छ ।

आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । भीषण हावाहुरीले नारायणी नदीको पुलमा रहेका बिजुलीका सबै पोल भाँचिएका छन् । सबै पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् ।

अहिले चितवन र नवलपरासी दुबै तर्फको विद्युत् आपूर्ति बन्द छ । नारायणी पुल भएर आवतजावत गर्ने सवारीसाधन बिस्तारै चलेका छन् । गैंडाकोट र नारायणगढ तर्फ सवारीसाधनको लाइन छ ।

अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको हो । पुलमा रहेको वारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको छ ।

ट्रक लडेपछि यातायात आवतजावत केहीबेर अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाइएको छ । यातायात अवरुद्ध रहेको पुलबाट अहिले गाडी चल्न थालेका छन् ।

त्यसैगरी हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएमको टावर भाँचिएको छ । रेडियोको प्रशारण अहिले बन्द छ । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो ।