काठमाडौं । मोडलिङ सम्बन्धी एजेन्सी चलाउने मनोज पाण्डेले सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि जबरजस्ती करणी गरेको दाबीसहित आएका पीडितका भिडियोको घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ।
अनुसन्धानमा हदम्याद सम्बन्धी जटिलता देखिएपछि महानगरीय प्रहरी कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वशन्तबहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा सङ्गठित अपराधको अनुसन्धानबारे जानकार महाशाखाका एसपी कृष्ण कोइराला, परामनोविज्ञान तथा डिएसपी कोपिला चुँडाल, महानगरीय प्रहरी परिसर काठमाडौँका इन्टेलिजेन्स प्रमुख हरि बस्नेत र महिला सेल प्रमुख सपना खड्का सदस्य छन् ।
बुधवार सामाजिक सञ्जालमा एक युवतीले आफूमाथि भएको यौन हिंसा र जबरजस्ती करणी घटनाबारे उल्लेख गर्दै भिडियो सार्वजनिक गरेपछि सार्वजनिक बहस सुरु भएको छ।
कानुनी हदम्यादका कारण अनुसन्धान हुन नसक्ने देखिएपछि महिला हिंसा सम्बन्धी कानुनमा रहेको हदम्याद हटाउन दबाब सुरु भएपछि गृह मन्त्रालयले समिति गठन गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो।
अनुसन्धान प्रक्रिया सुरु गर्न देखिएका कानुनी जटिलतासँगै घटनाको गहन अनुसन्धान गर्न समिति गठन भएको समिति संयोजक तथा महाशाखा प्रमुख कुँवरले जानकारी दिनुभयो । अनुसन्धान अगाडि बढाउन प्रहरी गम्भीर रहेको उहाँको भनाई छ ।