Aafno Khabar

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

  • आफ्नो खबर
  • May 20, 2022 प्रकाशित

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरीले ६ हजार ९६१ मत प्राप्त गरेका छन्  । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले पाँच हजार ९४७ मत प्राप्त गरेका छन् । हालसम्म १८ हजार १९३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेसका वीरेन्द्रकुमार शाह एक हजार ७१५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पोख्रेलले एक हजार २१ मत प्राप्त गरे ।

यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित भएका छन्  । वडा नं २ बाट नेकपा एमालेका भीमबहादुर कवर योगी, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर निर्वाचित भएका छन् ।

अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ३, ६ र ७ को मतगणना जारी छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदातामध्ये ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

यता, मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस तथा उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु ६ हजार १२३ मत प्राप्त गरी विजयी भएकी छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुखनीकुमारी माझीले पाँच हजार ४४८ मत प्राप्त गरेका छन् । सात वडा रहेको यस पालिकामा पाँचमा एमाले तथा एक÷एकमा कांग्रेस र माओवादी केन्द्र विजयी भएका छन् ।

यस्तै, उर्लाबारी नगरपालिकाको प्रमुखमा एमालेका गङ्गाप्रसाद खरेल १२ हजार १५६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्गबहादुर फागोले १० हजार २९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी मीनाकुमारी खतिवडा १० हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरेका छन् ।

नौ वडा रहेको उर्लाबारीमा पाँचमा एमाले र चारमा कांग्रेस विजयी भएको छ । मोरङमा ६ स्थानीय तहको मत परिणाम घोषणा हुन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु