पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले फराकिलो अग्रता बनाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान र नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीबीच १० हजार ८११ मतको फराकिलो अन्तर देखिएको छ ।
सिंहले २२ हजार ५९६ मत प्राप्त गर्दा सरावगीले ११ हजार ७८५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम पुरुषोत्तमलाल झाले पाएको भन्दा ५ गुणा बढी मतले अघि छन् ।
इम्तियाजले १६ हजार १३९ मत पाउँदा झाले हालसम्म ३ हजार ३५६ मत मात्रै पाएका छन् । उनीहरुबीच १२ हजार ७८३ मतको अन्तर देखिएको छ ।
हालसम्म मेयर पदमा ८ हजार ९३९ मत बदर छ । उपप्रमुखमा २० हजार ३३३ मत बदर भएको छ । अहिलेसम्म गणना भएका हरेक वडामा राजेशमानले नै बढी मत पाइरहेका छन् ।
वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, २४, २३, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को ४३ हजार ८०० मत सकिएको छ ।
सरावगी वीरगञ्ज महानगरको निवर्तमान मेयर हुन् । २०७४ सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए भने राष्ट्रिय जनता पार्टी नेपालबाट मेयरमा उठेका राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए ।
सरावगीको दोस्रो कार्यकाल पनि मेयर बन्ने आकांक्षाले चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउँदै सरावगीको मेयर टिकट पक्का गराएका थिए ।
हालसम्मको मत परिणामले दोस्रो कार्यकाल पनि हत्याउने सरावगीको आंकाक्षा पूरा नहुने देखिएको छ ।
पुनः मेयरमा निर्वाचित हुन सरावगीले चुनावको बेला पैसाको खोलो बगाएको बताउने गरिएको छ । तर, चुनावमा उनका कुनै पनि भेदले काम नगरेको देखिएको छ ।