दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन ।
चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उपमेयरमा एमालेकी हुमा डिसी झिनो मतले निर्वाचित भएकी छ्न ।
डिसीले ३०४०३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत प्राप्त गरे ।
खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित
स्थानीय तहको निर्वाचनमा खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुख/उपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुःन यथास्थानमा दोहोरिने र कतिपयको माथिल्लो पदमा फड्को मार्ने प्रयास असफल भएको हो ।
यथास्थानमा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिएका केपिलासगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई र साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का पराजित भएका छन् ।
एमालेका शंखरबहादुर गठबन्धनबाट उठेका माओवादी केन्द्रकी अरुणादेबी राईबाट पराजित भएका छन् । माओवादी केन्द्रका अर्जुनकुमार कांग्रेसका रबिप्रकाश राईभन्दा पछि परेका हुन् ।
एमालेका कृष्णकुमार राई कांग्रेसबाट बिजयी भएका समिर राईका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका माइतीराज राईभन्दा पछि परेका छन् ।
एमालेकी बिणादेबी राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा दोहोरिने प्रयास असफल भएको छ । उनी गठबन्धन (माओवादी केन्द्र)का बिसन राईसँग पराजित भएकी हुन् ।
खोटेहाङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष गोमा मगर अध्यक्षमा पराजित भएकी छन् । कविता गठबन्धन (माओवादी केन्द्र)का उदिमबहादुर राई र गोमा गठबन्धन (कांग्रेस)का शालिकराम बञ्जराभन्दा पछि परेका हुन् ।
साकेला गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरिता खड्का र ऐसेलुखर्क गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पुष्पकला भुजेलको यथास्थानमा दोहोरिने प्रयास विफल भएको छ ।
सरिता माओवादी केन्द्रकी बिर्सिका राई र पुष्पकला गठबन्धन (कांग्रेस)का राजेश राजभण्डारी भन्दा पछि परेका हुन् ।