काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो ।
काँग्रेसले बिहीबार मध्यान्नसम्म २५० स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ ।
नतिजाअनुसार एमालेले १६२ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ८८ पालिका बढी जितेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि काँग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ४४ स्थानमा अग्रता बनाएको छ ।
यस्तै १०५ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ ।
यस्तै एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले १२ स्थानमा विजय हासिल गर्दा ७ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ।
जनता समाजवादी पार्टीले १५ पालिकामा जित हात पार्दा स्वतन्त्र उम्मेदवारले १९ पालिका जितेका छन् । जसपा १९ पालिकामा अगाडी छ । लोकतान्त्रिक समाजवादी पार्टीले भने १ पालिकामा जितेको छ ।
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरसहित केही पालिकामा गठबन्धन भएको थियो भने एमालेले पनि राप्रपासहितका केही साना पार्टीसँग गठबन्धन गरेको थियो ।