काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन्।
उनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन्। राप्रपाका मदनदास श्रेष्ठ ५२१ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८१ मत पाएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ।
यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्। त्यस्तै उपमेरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९८५८ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८१७ मत ल्याएका छन् ।अहिले मतगणना जारी छ।
ललितपुर महानगरमा चिरिबाबुको फराकिलो अग्रता
ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो पटक १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी मन्जली शाक्य ३ हजार ८०० मतसहित अगाडि छन् । माओवादीबाट उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले २ हजार ३२६ मत मात्र पाएका छन् । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ ।
हेटौँडामा फेरि राप्रपाको अग्रता
हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन् ।
सिंहले अहिलेसम्म ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले ८ हजार ६७ मत ल्याउदै दोस्रो स्थानमा रहेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ५२१ मत प्राप्त गर्दै राप्रपाका सिंह भन्दा १ हजार ७४४ मतान्तरले पछि परेका छन्