काठमाडौं । चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका तारा कुमारी काजी महतो ९ हजार ९ सय १ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका ऋषिराम काफ्लेले ७ हजार ७ सय २९ मत ल्याउनुभयो ।
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ । अघिल्लो निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा छ ।
एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित छ । यता ओलीसँग जोडिएका पालिकाको लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडेको छ ।
ओलीको जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ ।
सूर्यविनायक– २ मा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ । ओलीको गृहनगरमा एमाले यसपटक पनि काँग्रेसलाई रोक्न सक्ने देखिएको छैन् ।
सूर्यविनायकमा पनि काँग्रेस जित नजिक छ ओलीको निर्वाचन क्षेत्र समेत रहेको गृहनगर झापाको दमक नगरपालिकामा पनि एमाले कमजोर देखिएको छ ।
स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल भएसँगै नेकपा एमालेलाई ताप्लेजुङमा ठुलो धक्का लागेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ताप्लेजुङको एक नगरपालिका, ४ गाउँपालिका जितेको एमाले यो निर्वाचनमा तीन पालिकामा खुम्चिएको छ ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ताप्लेजुङका ९ स्थानीय तहमध्ये एक नगरपालिकासहित ४ वटामा नेपाली काँग्रेसले जितेको छ । माओवादी केन्द्र दुई पालिकामा विजयी भएको छ । ताप्लेजुङ पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईको गृह जिल्ला हो ।
गठबन्धनका कारण नेकपा एमाले देशैभरी खुम्चिदा गठबन्धन घटक दलका केही मुख्य निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारले अग्रता बनाएको देखिएको छ ।
काठमाडौंको शंखरापुरमा राप्रपा विजयी हुँदा हेटौंडामा गठबन्धनलाई राप्रपाका उम्मेदवारको चुनौती छ ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता हुँदा जनकपुरधाम, धनकुटा र धनगढीमा पनि गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् ।