Aafno Khabar

२५२ मध्ये ११७ पालिकामा कांग्रेसको जित, एमाले ६७ र माओवादीको ५४

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ । हालसम्म अन्तिम परिणाम आएका २५२ पालिका मध्य कांग्रेसले ११७ पालिकाको प्रमुख जितेको छ ।

११२ पालिका उपप्रमुख जितेको कांग्रेसको १९३ पालिका प्रमुखमा अग्रता छ भने १६७ उपप्रमुखमा अग्रता बनाएको छ ।

नेपाली कांग्रेसलाई पछ्याएको एमाले ६७ पालिका प्रमुख र ७१ उपप्रमुखमा विजयी भएको छ । एमालेले १२५ पालिका प्रमुख र १४७ पालिका उपप्रमुखमा अग्रता बनाएको छ ।

नेकपा माओवादी केन्द्रले ५४ पालिका प्रमुख जित्दा ४९ उपप्रमुख जितेको छ । ६० पालिका प्रमुखमा माओवादीले अग्रता बनाउँदा ८० पालिका उपप्रमुखमा अग्रता लिएको छ ।

नेकपा एकीकृत समाजवादीले ४ पालिका प्रमुखमा जित निकाल्दा १८ प्रमुखमा अग्रता बनाएको छ । ९ पालिका उपप्रमुख जितेको नेकपा एसले १३ मा अग्रता लिएको छ ।

जसपाले २ पालिका प्रमुख र ३ प्रमुख जितेको छ । जसपाको २७ पालिकामा अग्रता छ भने २६ पालिका उपप्रमुखमा लिड गरिरहेको छ । लोसपाले ११ प्रमुखमा अग्रता बनाएको छ र ९ पालिका उपप्रमुखमा अग्रता बनाएको छ ।

स्वतन्त्र तथा अन्य दलका तर्फका ८ पालिका प्रमुख जित्दा २१ पालिकामा अग्रता लिएका छन् । पालिका उपप्रमुखमा ४ जित र १४ अग्रता छ ।

बालेनले बनाए साढे ४४ सयको मतान्तर

काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत पाएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् । उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् ।

उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।