Aafno Khabar

भरतपुरमा रेनुको अग्रता कायमै, पछ्याउँदै विजय (ताजा अपडेट)

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ५ हजार ७१८ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ ।

४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् ।

मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी

अछामको मेल्लेख गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउँद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् ।

एमालेबाट उम्मेदवार भीमबहादुर खड्कालाई ९ सय ६० मतान्तरले पराजित गर्दै साउद निर्वाचित भएका हुन् । निर्वाचित साउँदले ५ हजार १ सय ४४ मत पाउँदा एमालेका खड्काले ४ हजार १ सय ८४ मत पाए ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । खड्का ४ हजार ४ सय ८४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका समिता महरले ३ हजार ८ सय ६५ मत पाइन् ।