Aafno Khabar

चुनावपछि सरकारको दोस्रो उपहार सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

  • आफ्नो खबर
  • May 17, 2022 प्रकाशित

काठमाडौं । चुनावको भोलिपल्ट पेट्रोलियम पदार्थको मूल्य बढाएको सरकारले भोलिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

केही दिन अघि मात्रै डिजेल र पेट्रोलको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको सरकारले बुधबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको हो ।

स्वचालित भाडा समायोजन अनुसार सार्वजनिक सवारीको भाडा वृद्धि हुन लागेको यातायात व्यवस्था कार्यालयले बताएको छ । पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।

मंगलबार यातायात व्यवस्था विभागले भोलिदेखि भाडा वृद्धि हुने गरेर नयाँ भाडा दर निकालेको छ । मालवाहक सवारीमा ५.१ प्रतिशत, अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ३.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा वृद्धि भएको हो ।

सकारले भने सर्वसाधारण स्थानीय तहको मत परिणाममा केन्द्रित भएको बेला एकै पटक पेट्रोल र डिजेलको मूल्य प्रतिशत वृद्धि गरेको थियो ।

अझै पनि नेपाल आयल निगमको घाटा काम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनसक्ने अवस्था रहेको छ ।