Aafno Khabar

देवी ज्ञवालीको वडामा मत गणना हुँदा रेनुलाई अग्रता

  • आफ्नो खबर
  • May 16, 2022 प्रकाशित

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले ५ हजार ६६ मतसहित अग्रता बनाएकी छन् । नेकपा एमालेका विजय सुवेदीको ५ हजार ५६ मत रहेको छ । भरतपुरमा आज बिहानदेखि सुवेदीले अग्रता लिएका थिए ।

तर, एमले नेता देवी ज्ञवालीको वडामा मतगणना हुँदा रेनुले अग्रता बनाएकी हुन् । भरतपुरको मेयरमा बागी उम्मेदवार जगन्नाथ पौडेलको २३७९ मत रहेको छ ।

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको ६०८३ र राप्रपाका हिमाल गुरुङको ४०६९ रहेको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

पछिल्लो परिणाम अनुसार बालेन शाहले ७ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ४१ सय १३ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३५ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिनुभएको छ । उहाँको ४७ सय ३० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले १७ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राख्नु भएको छ । अहिलेसम्म उहाँले ५५ सय ३२ मत प्राप्त गर्दा एमालेका सागर थापाले ३९ सय ७४ मत पाउनु भएको छ ।

यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको ५७ सय ४८ मत रहँदा एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाउनु भएको छ ।

वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहको ५१ सय ३३हुँदा एमालेका विजयकुमार सरावगीले २ हजार ३ सय ६ मत ल्याउनुभएको छ ।