पर्वत । कुश्मा नगरपालिकाको वडा नम्बर १३ मा नेकपा एमाले र १४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर १३ मा एमालेका वडाध्यक्ष उम्मेदवार तेजप्रसाद शर्माले ६५५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका धर्मबहादुर के.सीले ५०२ मत ल्याए ।
वडा नम्बर १४ मा कांग्रेस उम्मेदवार रुद्रमोहन रिमालले ७५५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा एमलेका लोकबहादुर गुरुङ्गले ५५३ मत ल्याए । यसअघि कुश्मा १ मा कांग्रेस उम्मेदवार खगराज पौडेल वडाध्यक्षमा निर्वाचित भएका थिए ।
कुश्मा नगरपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता कायम राखेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका कांग्रेसका जोशीले नेकपा एमालेका गणेश पौडेललाई ३४३ मतले पछि पारेका छन् ।
सोमबार बिहानसम्मको गणनामा कांग्रेसका जोशीले ३०१४ मत ल्याउँदा एमालेका पौडेलले २६७१ मत ल्याएका छन् । उपपमेयरमा भने एमाले उम्मेदवार स्वस्थानी रिजालले अग्रता बनाएकी छन् ।
रिजालले २६८७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार शंकर गिरीले २१५१ मत ल्याएका छन् । कुश्मा नगरपालिकामा हालसम्म वडा नम्बर १, १३ र १४ को परिणाम आएको छ । १ र १४ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी हुँदा १३ मा एमालेको प्यानल नै विजयी भएको छ ।
पर्वतको पैयूँ गाउँपालिकामा एमालेले मतान्तर बढाउँदै लगेको छ । नेपाली कांग्रेसको पकड क्षेत्रको रुपमा रहेको पैयूँमा ५ हजार मत गणनासम्म कडा टक्कर देखिएको थियो ।
तर, पछिल्लो समय नेकपा एमालेका उम्मेदवार महेन्द्रकुमार श्रेष्ठले अग्रता कायम राख्दै मतान्तर पनि बढाएका छन् । श्रेष्ठको २९७० मत हुँदा नेपाली कांग्रेसका तोरण मल्ल ठकुरीको २८१३ मत रहेको छ ।
गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी उम्मेदवार यामकुमारी रानाले अग्रता कायम राखेकी छन् ।उनले ३१५२ मत ल्याउँदा कांग्रेसकी जानकी प्रधानको २६७१ मत रहेको छ ।
पैयूँ गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।