काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना देशैभर चलिरहेको छ । हालसम्म २० पालिकाको अन्तिम परिणाम पनि आएको छ ।
हालसम्को परिणामले नेकपा एमालेलाई अग्र स्थानमा छ । परिणाम आएका मध्य एमालेले ८ पालिका प्रमुखमा जित हासिल गर्दा नेपाली कांग्रेसले ७ पालिका प्रमुख जितेको छ ।
माओवादी केन्द्रले ३ पालिका प्रमुख जितेको छ भने एकीकृत समाजवादी २ पालिकामा विजयी भएको छ । देशैभरका धेरै पालिकामा अग्रता भने नेपाली कांग्रेसले लिएको छ ।
ताराखोला गाउँपालिकामा माओवादीका विकको प्यानल नै विजयी
बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै, गाउ्रँपालिका उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी भएका छन् । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।
गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा यमबहादुर श्रीष, २ को अध्यक्षमा भद्र घर्ती, ३ को अध्यक्षमा कर्णबहादुर भण्डारी, ४ को अध्यक्षमा जितबहादुर खत्री र ५ नम्बर वडाको अध्यक्षमा मनबहादुर खत्री विजयी भएका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा एमालेका शेर्पा निर्वाचित
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् ।
शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवार टासी ल्हमु शेर्पाले २०२३ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी निर्मला कार्की थापा मगरले १५८२ र नेकपा माओवादी केन्द्रका एञ्जल राईले ११३ मत प्राप्त गरेका छन् ।