Aafno Khabar

६ पालिकाको नतिजामा एमालेले जित्यो ३ पालिका प्रमुख

  • आफ्नो खबर
  • May 14, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउँन थालेको छ । हिजो साँझ देखि नै सुरु भएको मतगणनाको परिणाम आउन थालेको हो । स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित छ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत समाजवादीले दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।

नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका तथा डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) विजयी हासिल गरेको छ ।

हालसम्मको परिणाम अनुसार नेकपा एकीकृत समाजवादीले दुई पालिकामा विजयी हासिल गरेको छ । समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिकामा (निर्विरोध) निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकामा जित हासिल गरेको छ ।

पछिल्लो परिणाम अनुसार मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । अध्यक्षमा लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाउनुभयो ।

उहाँका अनुसार अध्यक्षमा नेकपा ९एकीकृत समाजवादी०का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाउनुभयो । त्यहाँ कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।

लोघेकर दामोदरकुण्ड–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा त्यही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध हुनुभएको छ ।

अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख हुनुहुन्थ्यो ।