गुल्मी । नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । प्रमुखमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी र उपप्रमुखमा अमृतादेवी कुँवरले जित हात पारेका हुन् ।
प्रमुखमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपप्रमुख कुँवरले ८ हजार छ सय १९ मत ल्याएकी छन्।
नेकपा एमालेबाट प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेले सात हजार तीन सय २० मत ल्याएका छन्। एमालेकी उपप्रमुख उम्मेदवार रिता पाण्डेयले ७ हजार २ सय ३१ मत ल्याएकी छन्।
मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मी सभापति पनि हुन्। यसअघि ०७४ को स्थानीय चुनावमा नेकपा एमालेले मेयर र उपमेयर दुबै पदमा जितेको थियो।
कुश्मा नगरपालिकामा कांग्रेसका जोशीको अग्रता दोब्बर
पर्वतको कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता दोब्बर बनाएका छन् ।
नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई जोशीले दोब्बर मतले उछिनेका छन् । कुश्मा नगरपालिकाको एक नम्बर वडाको मतगणना चलिरहँदा जोशीले १८६ मत ल्याएका छन् भने पौडेलले ९० मत मात्र ल्याएका छन् ।
कुश्मा नगरपालिकाको उपप्रमुखमा भने एमालेकी उम्मेदवार स्वस्थानी रिजालको अग्रता छ । उनले १४४ मत ल्याउँदा माओवादी केन्द्रका शंकर गिरीले ११० मत ल्याएका छन् ।
फलेवास नगरपालिकामा कांग्रेसका तिवारीको अग्रता
पर्वतको फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले अग्रता लिएका छन् ।
तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई ११२ मतले पछि पारेका हुन् । फलेवास नगरपालिकामा तिवारीले ३ सय ३८ मत ल्याउँदा शर्माको २ सय २६ मत आएको छ ।
फलेवास नगरपालिकाको उपप्रमुखमा पनि गठबन्धन तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शोभा कुमारी छेत्रीले अग्रता लिएकी छन् ।
छेत्रीले २ सय ८९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार मन्जु अधिकारीले २ सय १३ मत ल्याएकी छन् ।