Aafno Khabar
add khanepani

ललितपुरमा एमालेका उम्मेदवारभन्दा कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अघी

  • आफ्नो खबर
  • May 14, 2022 प्रकाशित

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो मतको अग्रता बनाएका छन् ।

जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार निवर्तमान प्रमुख चिरिबाबु महर्जनले ६०० मत गणनामा ३२६ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ सय ४१ मत ल्याएका छन्। यो कुल मतगणनाको ५४ प्रतिशत मत हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ३५ मत ल्याएका छन्। उपप्रमुख पदमा भने एमालेको अग्रता छ ।

एमालेकी मन्जली शाक्य बज्राचार्यले १ सय ४४ मत ल्याउँदा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले ६१ मत ल्याएका छन् ।

ललितपुरमा मतगणना सुस्त भएसँगै त्यहाँ भोलिदेखि दुई ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

काठमाडाैंकाे ताजा अवस्था यस्ताे छ –

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब २२ सय मतगणनामा बालेनले ७ सय ४७ मतसहित अग्रता लिएका हुन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ सय ४५ मत पाएका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३९७ मत ल्याएकी छन्।

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १ सय २ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन्।

यस्तै उपमेयरको प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिएकी छिन्।

प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६ सय २ मत ल्याएकी छिन् । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्‍याएकी छिन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् । साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् ।

भरतपुर महानगरकाे ताजा अवस्था –

भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो बन्दै गएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ७० मतले पछि पारेकी छन् ।

मतगणनाको प्रारम्भका अग्रस्थानमा देखिएका सुवेदी पछिल्लो समय पछि पर्दै गएका छन् ।भरतपुरमा ९५० मत गणना सकिँदा दाहालले ३७४ मत पाएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले पछि परेका छन्।  एमालेका सुवेदीले ३ सय ४ मत ल्याएका छन्।

त्यस्तै भरतपुरको उपप्रमुख पदमा पनि कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको फराकिलो अग्रता देखिएको छ ।

हालसम्म अधिकारीको पक्षमा ३ सय ५८ मत आउँदा राप्रपाका हिमला गुरुङ्गको २ सय १४ मत आएको छ ।

निकै चासोको रुपमा हेरिएको भरतपुरमा माओवादी केन्द्रले कांग्रेसलगायत पाँच दलसँग गठबन्धन गरेको छ भने नेकपा एमालेले राप्रपासँग तालमेल गरेको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउँदै कांग्रेसको तर्फबाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पौडेलको उम्मेदवारीले दाहालको मत काट्ने आँकलन गरिए पनि हालसम्मको मतगणनामा त्यसको प्रभान नगन्य मात्रामा देखिएको बताइएको छ ।