पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म १ हजार ९ सय ९३ मत गणना हुँदा पालिका अध्यक्षमा एमालेका उम्मेदवार महेन्द्र श्रेष्ठले १ हजार ८ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका राज मल्ल ठकुरीले ९ सय ८ मत ल्याएका छन् । पैयूँ गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेकी यामकुमारी रानाले अग्रता बनाएक छिन् । उनले १ हजार ७९ मत ल्याउँदा कांग्रेसकी जानकी प्रधानले ९ सय ८ मत ल्याएकी छन् ।
पैयूँ गाउँपालिका पर्वत जिल्लाको दक्षिणी पालिका हो । यो गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।
पर्वतका अन्य पालिकाकाे पछिल्लाे अवस्था यस्ताे छ –
पर्वतको फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले अग्रता लिएका छन् । तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई ११२ मतले पछि पारेका हुन् । फलेवास नगरपालिकामा तिवारीले ३ सय ३८ मत ल्याउँदा शर्माको २ सय २६ मत आएको छ ।
फलेवास नगरपालिकाको उपप्रमुखमा पनि गठबन्धन तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शोभा कुमारी छेत्रीले अग्रता लिएकी छन् । छेत्रीले २ सय ८९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार मन्जु अधिकारीले २ सय १३ मत ल्याएकी छन् ।
पर्वतको कुश्मा नगरपालिकामा भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता दोब्बर बनाएका छन् ।
नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई जोशीले दोब्बर मतले उछिनेका छन् । कुश्मा नगरपालिकाको एक नम्बर वडाको मतगणना चलिरहँदा जोशीले १८६ मत ल्याएका छन् भने पौडेलले ९० मत मात्र ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी उम्मेदवार स्वस्थानी रिजालको अग्रता छ । उनले १४४ मत ल्याउँदा माओवादी केन्द्रका शंकर गिरीले ११० मत ल्याएका छन् ।
पर्वत जिल्लामा दुई नगरपालिका सहित सात वटा स्थानीय तह रहेका छन् । सबै स्थानीय तहमा अहिले मतगणना भइरहेको छ ।