काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचनलगत्तै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँ मूल्य बढाएको हो।
वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ ।