Aafno Khabar

काठमाडौं महानगरमा मतगणना सुरु, गणना भएकामध्ये सबैमा एमालेको अग्रता

  • आफ्नो खबर
  • May 14, 2022 प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सकिएको छ । बैठक सकिएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति पनि भएको छ । महानगरको मतगणना वडा १ र ३२ बाट सुरु हुने जनाइएको छ ।

यस्तै काठमाडौंका ११ मध्ये हालसम्म मतगणना शुरु भएका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

शंखरापुर, गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् । गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ५६२ मतका साथ अग्रता लिँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत पाएकी छन् ।

त्यस्तै शंखरापुरमा एमालेका मेयर उम्मेदवारले १३५ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवारले ९० मत पाएका छन् ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि एमालेको मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत सहित अग्रता लिएका छन् भने कांग्रेसका विनोद चालिसेले ४२८ मत पाएका छन् ।

उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा छिन् भने कांग्रेसकी रमा वाग्लेको ४५३ मत छ । काठमाडौंका अन्य पालिकामा पनि मतगणना सुरु हुँदैछ ।