Aafno Khabar

काठमाडौंमा ४० प्रतिशत दलिय मत खसेन, स्वतन्त्र उम्मेदवार बालेनको जित्ने सम्भावना बढ्यो

  • आफ्नो खबर
  • May 13, 2022 प्रकाशित

काठमाडौं । यसपालिको स्थानीय तह निर्वाचनमा काठमाडौंका मतदाताले जनप्रतिनिधि छान्र उत्साह नदेखाएको पायएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौंमा कुल मतदातको ६० प्रतिशत भन्दा कम मत खसेको बताइएको छ । देशको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं महानगरमा झण्डै ४० प्रतिशत बढी मतदाताले मतदान प्रकृयामा सहभागी नै नभएको पाइएको हो ।

नेपाली कांग्रेसले प्रकाशमान सिंहकी धर्मपत्नीलाई टिकट दिएको र एमालेले ‘मिटु’ को विवादमा फसेका केशव स्थापितलाई उम्मेदवार बनाएका कारण काठमाडौंबासीहरुले मतदान प्रकृयामा चासो नदेखाएको पाइएको छ ।

मतदान प्रकृयामा सहभागी नभएका मतदाता अमुक पार्टी निकट रहेको अनुमान गरिएको छ । यसको प्रत्यक्ष फाइदा भने स्वतन्त्र उम्मेदवार बालेन शाहलाई देखिने भएको छ । काठमाडौंका युवापुस्तामा बालेनप्रतिको क्रेज निकै पाइन्छ ।

आयोगका एक अधिकारीका अनुसार काठमाडौंमा ५२ प्रतिशत मात्र मत खसेको अनुमान छ। अन्तिम हिसाब निकाल्दा केही बढे पनि ५५ प्रतिशत भन्दा कम मतदाताले मात्रै महानगरमा मतदान गरेको पाइएको छ।

यसअघि नेकपा एमालेका नेताहरुले नयाँ पुस्ताका मतदाताबाट एमालेलाई मतदान हुने दाबी गर्दै आएका थिए। तर, मतदाताको संख्या ह्वात्तै घटेपछि यसको प्रत्यक्ष असर कांग्रेस र एमाले दुवै दलका उम्मेदवारलाई पर्ने देखिएको छ।

पछिल्लो समय युवा पुस्ताका मात्र हैन, लठ्ठी टेक्ने बूढो पुस्ताले समेत स्वतन्त्र उम्मेदवार बालेन शाहलाई रोजेको देखिएको छ। शुक्रबार मतदानका दिनसम्म आइपुग्दा बालेनप्रति देखिएको आकर्षणले कांग्रेस, एमालेका उम्मेदवारलाई बालेनले टक्कर दिने प्रष्ट देखिएको छ।

सोल्टीमोडका एक मतदाताले मतदानस्थलबाट फर्केर भने, ‘बालेन शाहप्रति आकर्षण ह्वात्तै बढेको देखियो, उनी काठमाडौंको मेयरमा विजयी बने भने मचाहिँ अचम्म मान्दिनँ।’ त्यसो त काठमाडौंका मतदाताले परिवर्तन रुचाउँदै आएको देखिन्छ।

कतिपय बेलामा उनीहरुले व्यवस्थाप्रतिको असन्तुष्टि प्रकट गर्नेक्रममा कसैले नसोचेको उम्मेदवारलाई जिताउने गरेको रेकर्ड छ।

निराश काठमाडौंले कहिलेकाहीँ ‘दाइलाई भन्दा गाईलाई’ रोज्ने गरेको समेत देखिएको छ। यसपटक काठमाडौंका करिब ४० प्रतिशतभन्दा बढी मतदाताले मतदानमा भागै नलिएर सत्तारुढ दलप्रतिको असन्तुष्टि प्रकट गरेका छन्। र, यसको सोझो फाइदा बालेनले उठाउने देखिएको छ।