मनाङ । मनाङको चामे गाउँपालिकामा मतगणना सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन्। घले यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए। त्यस्तै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन्। एमालेका उपाध्यक्ष पदका उम्मेदवार आशकुमारी गुरुङले १५४ मत प्राप्त गरेकी छन्। कांग्रेसका उपाध्यक्षका उम्मेदवार मिङ्मार ढोमा लामाले १२९ मत प्राप्त गरेकी छन्।
मुख्य निर्वाचन अधिकृत खनालका अनुसार वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ। उक्त गाउँपालिकामा ५ वटा वडा छन्। मतगणना भएका वडाहरूको वडाध्यक्षसहित सदस्यहरू निर्विरोध भएका थिए । यस्तै, मनाङको मनाङ डिस्याङ गाउँपालिकामा मतगणना सुरू भएको छ।
मतगणना सुरू भए पनि प्रारम्भिक मतगणना आइसकेको छैन। निर्वाचन अधिकृत केदारनाथ उपाध्यायले मतगणना साँझ साढे ८ बजेबाट सुरू भएको जानकारी दिए।
प्रत्येक वडाको गणना सकिएपछि सूचना दिने उनले बताए। मनाङ डिस्याङमा नेकपा एमालेका कान्छा घले र नेपाली कांग्रेसका छिरिङ ओङमा गुरुङ ९घले० बीच अध्यक्ष पदमा प्रतिस्पर्धा छ।
एमालेका कान्छा घले यसअघि पनि गाउँपालिकाका अध्यक्ष थिए। त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रिन्जेन धोर्जे गुरुङ, राप्रपाका ज्यामयाङ टासी गुरुङ र स्वतन्त्र छिरिङ गुरुङबीच प्रतिस्पर्धा छ।