Aafno Khabar

प्रहरीले कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई

  • आफ्नो खबर
  • May 12, 2022 प्रकाशित

सुर्खेत । निर्वाचन सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।

मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए । स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई उद्धार गरेर मतदान अधिकृतलगायतको टोली बसेको घरमा राखिएको थियो । उनले बोकेको पेस्तोल अन्य प्रहरीले खोसेका थिए । भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।

मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ देखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको जानकारी दिए ।

‘मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुटपिट गरेछन्,’ झाले भने, ‘त्यहाँबाट प्रहरीले उद्धार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथि नै कुटपिट भयो ।’

मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए ।