Aafno Khabar

मतदानका लागि काठमाडौं छाड्नेको भीड

  • आफ्नो खबर
  • May 11, 2022 प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । काठमाडौंको बालाजु बसपार्क र कोटेश्वर क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ ।

ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि ट्राफिक जामको अवस्था पनि छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ ।

तर आजबाट धेरै विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको हो । मतदान गर्नका लागि कतिपय आफ्नै खर्चमा थाकथलो फर्केका छन् भने कतिपय मतदाताका लागि सम्बन्धित जिल्लाका उम्मेदवारले सवारी साधनको ब्यवस्था गरेको पाइएको छ ।

मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरुले बताएका छन् ।

ट्राफिक प्रहरीका अनुसार कोटेश्वर जडिबुटी हुँदै बाहिरिने सवारी साधन र नयाँ बसपार्क क्षेत्रबाट बाहिरिने सवारी साधनहरु क्यूमा चलिरहेका छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु र सवारी साधनहरुको संख्या बढी भएका कारण ती स्थानमा क्यू रहेको हो ।