Aafno Khabar

केशव स्थापित काठमाडौंको उम्मेदवार, यी हुन एमालेका अन्य महानगरका उम्मेदवार

  • आफ्नो खबर
  • April 23, 2022 प्रकाशित

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।

जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

एमालेले काठमाडौंको मेयरमा उम्मेदवार बनाउन लागेका स्थापित बागमती प्रदेशसभा सदस्य पनि हुन् । डोरमणी पौडेल मुख्यमन्त्री हुँदा भौतिक पूर्वाधार तथा विकास मन्त्री भएका स्थापितलाई मन्त्रिपरिषद बैठकमा अभद्र व्यवहार गरेको भन्दै पदबाट बर्खास्त गरिएको थियो।

सोही समयमा स्थापितलाई दुईजना महिलालाई यौन दुर्व्यवहार गरेको आरोप पनि लगाएका थिए । उनलाई काठमाडौं महानगरपालिकाकीा पूर्व कर्मचारीबाट यौन दुर्व्यवहारको आरोप लागेको थियो ।

यस्तै एमालेले भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बााकी छ । बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

धनगढीको प्रमुखमा रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु

नेपालगञ्जको प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल

तुलसीपुरको प्रमुखमा टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी

घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी

बुटवलको प्रमुखमा बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल

हेटौंडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले

धरानको प्रमुखमा मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब

इटहरीको प्रमुखमा यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी र कलैयाको प्रमुखमा विनोद साहलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।