Aafno Khabar

९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब माथि

  • आफ्नो खबर
  • April 22, 2022 प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत्र मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब माथि पुगको छ । यस अवधिमा नेपालको निर्यात अघिल्लो बर्षको तुलनामा उल्लेख्य बढेपनि अत्यधिक आयातका कारण ब्यापार घाटा उच्च रहेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार १४ खर्ब ६६ अर्ब बढीको आयात र निर्यात भने एक खर्ब ६० अर्ब बराबर हुँदा व्यापार घाटा १३ खर्ब ७ अर्ब बराबर पुगेको हो ।

यस अवधिमा आयात ३२ प्रतिशत बराबरले र व्यापार घाटा २८ प्रतिशतले बढेको हो । अघिल्लो महिनाको तुलनामा भने आयात बृद्धिदर केही घटेको हो । फागुनसम्म आयात ३८ प्रतिशतले बढेको विभागको तथ्यांक छ । अघिल्लो बर्षको यसै अवधिमा व्यापार घाटा १० खर्ब १६ अर्ब रहेको थियो ।

यस अवधिमा निर्यात अघिल्लो बर्षको यसै अवधिको तुलनामा ६९ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब पुगेपनि अत्यधिक आयातका कारण बैदेशिक व्यापार धान्न नसकेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड बराबरको सामान निर्यात भएको थियो । यस अवधिमा दुई खर्बको त पेट्रोलियम पदार्थमात्र आयात भएको विभागको तथ्यांक छ ।

नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यास गरी १ खर्ब ९८ अर्ब बढीको पेट्रोलियम पदार्थको आयात गरेको हो । नेपालको आयात निर्यात अनुपात ९ दशमलब १३ रहेको छ ।